काठमाडौं। घोराही– तुलसीपुर फोरलेन सडक निर्माणको काम जिम्मा लिएकाहरूले फेरी कामको भाका सारेका छन्। यो भन्दा अगाडी करिब एक महिना पहिले कार्य शुभारम्भ भएको भन्दै तामझाम गरेको निर्माण कम्पनीले त्यतिबेला एक सातामा काम देखिने जानकारी दिएको थियो।
अहिले कामको प्रगती केहि छैन भाका सारेको सार्यै छ। हिजो जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायीलाई बोलाएर कामको प्रगति किन भएन भनेर प्रश्न गरेको छ। त्यसको जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधि विजय पाठकले पहिलेको पेटी ठेकेदारसँगको कागजी प्रक्रिया मिलाउँदा तथा भौतिक प्रगति अघि बढाउन अपनाउनु पर्ने कानुनी र प्राविधिक प्रक्रियामा ढिलाइ हुँदा पुसको दोस्रो साताबाट काम सुरु हुने बताए।
पाठकले कामको जिम्मा लिएको पहिलो ठेकेदारको लापरबाहीका कारण कागजी र कानुनी प्रक्रिया मिलाउँदा काम गर्न ढिलाइ भएको जानकारी गराउँदै प्रहरी प्रशासन र सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध गराएसँगै कामको प्रक्रिया अघि बढेको जानकारी दिए,
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अहिले भौतिक प्रगति नदेखिँदा सबैलाई काम किन भएन भनेर जिज्ञासा हुनु स्वाभाविक भएको बताउँदै ठेकेदारले यसअघि काम गर्छु भनेर जिम्मा लिएको निर्माण पक्षले चरम लापरबाही गरिदिँदा सबैलाई दुःख भएको बताए।