विराटनगर। मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग गरिएका तीनवटा टिपर मोरङको मिक्लाजुङमा तोडफोड गरिएको छ।
लोकमार्गअन्तर्गत झापाको बेलडाँगीदेखि धरानको सर्दु खण्ड निर्माणमा प्रयोग गरिँदै आएका टिपर मिक्लालुङ गाउँपालिका–९ मा तोडफोड गरिएको प्रहरीले जानकारी दिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार तोडफोडबाट प्रदेश ३–००१ क ००९०, प्रदेश ३–००१ क ००९१ र प्रदेश ३–००१ क ०२९० नम्बरको टिपरमा ठुलो क्षति पुगेको छ।
तोडफोडका कारण सबै टिपरको अगाडिको सिसामा पूर्ण रूपमा क्षति पुगेको छ। टिपर मोतीदान कन्सट्रक्सन सेवा प्रा.लिको हो। डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट मिक्लाजुङ–९ का २६ वर्षीय धुम्बे भनिने शिवराज मगरले टिपर तोडफोड गरेको भन्ने खुलेको छ। सडकमा गुडिरहेका टिपर तोडफोड गरेर फरार बनेका उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार लोकमार्ग निर्माणमा प्रयोग गरिएका टिपर तोडफोड गर्नुपर्ने कारण भने खुल्न बाँकी छ। मोतीदान कन्सट्रक्सन सेवा प्रा.लिका डाइरेक्टर विकास गौतमले माटो लिन जाँदै गरेका बेला टिपर तोडफोड गरिएको जानकारी दिए।