काठमाडौं। ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा दोलखाबासी ठगिएको गुनासो आएको छ। बिहीबार नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आयोजनामा दोलखाबासी ठगिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्ती दीपक खड्कालाई ज्ञापनपत्र बुझाएका हुन्।
उनले आयोजनाको शेयर दोलखाबासीलाई अन्य सर्वसाधारणलाई भन्दा पनि कम दिएको गुनासो गरेका हुन्।
शिवाकोटीले स्थानीय जनतालाई दिइँदै आएको सेयरको लकिङ पिरियड हटाउनुपर्ने, नेपाल विद्युत प्राधिकरण र अपर तामाकोसी जलविद्युत् आयोजनाबीच असमान विद्युत् खरिद सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्।
उनले ज्ञापनपत्रमा आयोजनाको ड्याम साइटमा पानी चुहिने समस्या रहेकाले मर्मतसम्भार गर्नुपर्ने, हिउँदयाममा सम्झौता भएअनुसारको विद्युत् दिन नसक्दा तिरिंदै आएको पेनाल्टीलाई बर्खायाममा पूर्ण क्षमतामा सञ्चालन गरी परिपूर्ति गर्नुपर्नेमा बिग्रेका मेसिन मर्मत नहुँदा पूर्ण क्षमतामा उत्पादन हुन नसकेकोले समस्या समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।