रुपन्देही। रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारणगृह निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गर्ने काम भइरहेको छ। ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्र रोहिणी खोला किनारमा भण्डारणगृह बनाउन जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो।
पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्यांक निर्माण गरिने छ। पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुन सक्ने क्षति रोक्न अहिले तटबन्ध निर्माणको काम सकिने क्रममा छ।
नेपाल आयल निगमले प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरेको छ। काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ। करिब आठ करोडमा ती ठेक्का लगाइएको हो ।