फाइल तस्बिर
काठमाडौं। आयल निगमले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न नेपाल सरकारले प्रोत्साहन गर्नुपर्ने जनाएको छ। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमनले कार्यपत्र प्रस्तुत गर्दै वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने उल्लेख गरेको हो।
निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएको जानकारी दिएकी छन्। त्यसैगरी इथानोल मिश्रण अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, भारतमा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको उनको भनाइ छ।
महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने नीतिगत व्यवस्था गरेको समेत स्मरण गराइन्।