काठमाडौं । कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि टनाटन पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएका हुन् ।
काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि शुक्रबार कमलपोखरी पुगेका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए।
उनले छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको पनि बताए। उनले पानी पुनर्भरण र पानी शुद्धिकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरेको स्मरण गराए।