काठमाडौं। एक वर्षदेखि अलपत्र अवस्थामा रहेको बुटवलको ६ लेन सडक विस्तारको काम सूचारु हुने भएको छ। सडक विभागले भेरिएसन अर्डर स्वीकृत गरेसँगै सो सडक निर्माण सुचारु हुने भएको हो। सो सडकको भेरिएन अर्डर स्वीकृत नभएसम्म काम नगर्ने भन्दै निर्माण कम्पनीले निर्माणको काम रोकेको थियो। रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएर भत्काएको करिब एक वर्ष बित्दा पनि सडक नबनेपछि यात्रुले सास्ती पाएका थिए।
तर, अब सो सडक निर्माणको काम अगाडि बढ्ने बाटो खुलेको बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुखले जानकारी दिएका छन्। हाल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडकखण्ड धुलो र खाल्डाखुल्डीले हिँड्नै नसकिने अवस्थामा रहेको छ। सो सडक निर्माणको ठेक्का चार वर्षअघि नै द कञ्चनजंघा विरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो। आयोजना प्रमुखले अझै पनि सडक क्षेत्राधिकारभित्र पर्ने १०/१२ वटा घरको केही भाग भत्काउनुपर्ने अवस्था रहेको र यसले पनि निर्माणमा ढिलाई भैरहेको बताएका छन्।
उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ। सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप ८ करोड ४० लाख रुपैयाँ लगिसकेको छ। उक्त कम्पनीले ४७ करोड २७ लाख ८ हजार २८७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताको म्याद आगामी असारसम्म रहेको जनाइएको छ।