काठमाडौं। ठेक्का मिलाइदिने भन्दै घुस लिएको आरोपमा लुम्बिनी विकास कोषमा तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर भट्टराईविरुद्ध एक करोड ८५ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।
बाबुल निर्माण सेवालाई ठेक्का मिलाइदिने नाममा भट्टराईले बाबुल निर्माण सेवाबाट घुस लिएको अख्तियारले जनाएको छ। अख्तियारले जारी गरेको विज्ञप्तिमा बाबुल निर्माण कम्पनीका प्रोप्राइटर एकल दस्तखतबाट सञ्चालित अर्घाखाँची–बाबुल जे.भी. को खाताबाट विभिन्न बैङ्क खातामा एक करोड पाँच लाख रकम भट्टराईलाई दिएको खुलेको उल्लेख गरिएको छ।
कोषको योजना प्रमुख बन्दा सरकारी सम्पत्तिको गैरकानुनी ढङ्गले दुरुपयोग गरेको देखिएपछि भट्टराईमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत कसुरमा अख्तियारले भट्टराई र उनकी आमाविरुद्ध मुद्दा दायर गरेको हो।