काठमाडौं। फिलिपिन्सका पूर्वअर्थमन्त्री डा.रोबटो ओकाम्पोले पूर्वाधार विकासको लागि सरकारले राजनीति र कर्मचारीतन्त्रको प्रभाव व्यवस्थापन गर्नुपर्ने बताएका छन्। ‘नेपाल पूर्वाधार सम्मेलन(२०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’ मा बोल्दै ओकाम्पोले पूर्वाधार विकासको मूल दायित्व सरकारको भएकाले राजनीति र कर्मचारीतन्त्रको प्रभावलाई व्यवस्थापन गर्दै जानुपर्ने सुझाव दिएका हुन्।
उनले भने, ‘राजनीतिक र कर्मचारीतन्त्रको प्रभाव सबै ठाउँमा हुन्छ। त्यसलाई मिलाए कानुन बनाउनुपर्छ । तर, संकटको बेलामा मात्रै निजी क्षेत्रसँग सहकार्य गर्छु भन्ने सोचाइ सरकारले राख्नु हुँदैन।’
ओकाम्पोले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा फिलिपिन्सले गरेको सफलता नेपालका लागि पनि उपयोगी हुन सक्ने बताए। उनले पीपीपी मोडल सुरु गर्न कानुनी निर्माण र सरकारी संयन्त्रको क्षमता विकास गर्दै तालिम, व्यवस्थापनको सीप र समन्वयमा ख्याल गर्न सुझाव दिएका छन्।