काठमाडौं। सुदूरपश्चिममा उत्पादित विद्युत भारत निर्यात गर्नका लागि प्रसारण लाइनको क्षमता विस्तार गर्न माग गरिएको छ।
सुदूरपश्चिम सरोकार मञ्चकोतर्फबाट प्रतिनिधिसभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनीतिक दलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भेटेर उक्त माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरुले दार्चुला, बझाङ, बाजुरा, अछामलगायत सुदूरपश्चिममा उत्पादित विद्युतको आन्तरिक खपतसँगै बाँकी भारतमा निर्यात गर्नेगरी क्षमता विस्तार गर्न माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले प्रसारणलाइनको क्षमता विस्तारका लागि सरकारले काम गरिरहेको बताए।
उनले जलविद्युत् केन्द्र र प्रसारणलाइन निर्माणका क्रममा देखिएका वन र जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न सरकारले नीतिगत तहबाट काम गरिरहेको बताएका छन्।