काठमाडौं। नेपालबाट ४० मेगावाट विद्युत लैजान बंगलादेशको अन्तरिम सरकार पनि तयार भएको छ। बंगलादेशका हालका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नेपालबाट विद्युत आयात गर्ने विषयमा समर्थन जनाएका हुन्।
यो सेप्टेम्बरमै ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता गर्न अनौपचारिक छलफल भइरहेको बताइएको छ। ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौताका लागि मिति तय गर्न विभिन्न माध्यममार्फत कुराकानी भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।
बंगलादेशको सरकार परिवर्तन भएसँगै अब नेपालबाट विद्युत लैजाने सम्झौता के होला भन्ने अन्योल थियो। तर अहिलेको अन्तरिम सरकारले समेत विद्युत आयात गर्ने विषयमा समर्थन जनाएसगै सम्झौताका लागि तयारी भइरहेको मन्त्रालयले जनाएको छ।