काठमाडौं। बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी र बंगलादेशका अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसबीच भेटवार्ता भएको छ। मंगलबार राजदूत भण्डारी र प्रमुख युनुसबीच शिष्टाचार भेट गरेका हुन्।
भेटमा राजदूत भण्डारीले व्यापार, पारवहन र सम्पर्क सञ्जालका क्षेत्रमा सम्भाव्यताको खोजी तथा दुवै देश र जनतालाई लाभ हुने गरी ऊर्जा सहयोगमा केन्द्रित रहेर छलफल गरे।
उनले भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा द्विपक्षीय साझेदारीका विषयमा समेत जोड दिए। दुई देशबीच चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएको बताइएको छ।
भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) लगायत क्षेत्रीय सङ्गठनलाई नवजीवन प्रदान गर्दै अन्य क्षेत्रीय एवं अन्तरराष्ट्रिय सङ्गठनहरूमा सहकार्य गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ।