काठमाडौं। ४ सय ५६ मेगावाटको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीमा विभेद भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरिएको छ। स्थानीय दोलखा जिल्ला करार कर्मचारी संघर्ष समितिले असोज ४ गतेदेखि विभिन्न शान्तिपूर्ण संघर्षका कार्यक्रम घोषणा गरेको हो।
उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ र ५ गते शान्तिपूर्ण धर्ना गर्ने र ६ गतेदेखि माग पूरा नभएसम्म कम्पनीको सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरेका हुन्।
गत भदौ २४ गते संघर्ष समिति गठन गरिएको थियो। उक्त समितिले सेवा सुविधामा समानता कायम गरिदिन भन्दै भदौ २८ गतेदेखि असोज ३ गतेसम्म १ हप्ताको अल्टिमेटम दिएको थियो। असोज ३ गतेसम्म पनि आफूहरुको मागप्रति कसैले चासो नदिएको भन्दै समितिले संघर्षका कार्यक्रम घोषणा गरेको हो।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीले विना वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरेको उनीहरूको भनाइ छ। संघर्ष समितिले जिल्ला बाहिरका कर्मचारीले हाल खाईपाई आएको सेवा सुविधा नघटाई जिल्लाबासीलाई पनि उपलब्ध गराउनुपर्ने माग राखेको छ।