काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले चालु आर्थिक वर्षमा राहुघाट जलविद्युत् आयोजनाको सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले बिहीबार आयोजना निर्माणस्थलको अनुगमन गरी निर्माणमा सङ्लग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्दै यस्तो आग्रह गरेका हुन्।
उनले विभिन्न समस्याहरु झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए। कार्यकारी निर्देशक घिसिङले असारभित्र सम्पन्न हुने गरी एक हप्ताभित्र निर्माण समयतालिका टुङ्गो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोही बमोजिम कार्य अगाडि बढाउन र कंक्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थप गरी निर्माणलाई तिब्रता समेत आग्रह गरेका छन्।
उनले आयोजना सम्पन्न गर्नका लागि प्राधिकरणको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाए।