काठमाडौं। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा दिगो यातायात पूर्वाधार विकास गर्न स्वदेशी तथा वैदेशिक लगानी आवश्यक रहेको बताएका छन्। चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालका अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोड–वेको महत्त्व रहेको समेत बताए। यातायात पूर्वाधार विकासबाट आम नागरिकको जीवनयापन र आवागमनमा सहजता पुग्ने मात्र नभई नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ।
उनले व्यवस्थित सहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न योगदान पुग्ने बताए ।
अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवम् दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको समेत बताए।