काठमाडौैं। एसियाली विकास बैंक (एडीबी) ले तनहुँ र दूधकोसी जलविद्युत आयोजना निर्माणमा सहजीकरण गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ। एडीबी दक्षिण एसियाली विभागका उपमहानिर्देशक सिन्डी माल्मिसिनीले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँगकाे भेटमा यस्तो आग्रह गरेकी हुन्।
भेटमा माल्भिसिनीले तनहुँको निर्माण समयमै पूरा गर्न तथा दूधकोशीलाई निर्माणमा लैजान देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरिन्। उनले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एडीबीले धेरै क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।
जवाफमा मन्त्री खड्काले एडीबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागि परेको बताए। उनले जलविद्युत आयोजना निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए। आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्न समेत सरकारले ध्यान दिएको उनको भनाइ छ।