काठमाडौं। नेपालबाट बंगलादेशमा ४० मेगालाट विद्युत निर्यात गर्न आज त्रिपक्षिय सम्झौता हुने भएको छ। आज एक कार्यक्रमका बीच नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) हुने भएको हो।
नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्दा भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षिय सम्झौता गर्नुपर्ने भएको हो।
सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम तथा एनभीभएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गर्ने भएका छन्।
गत जुलाईमा नै त्रिपक्षीय सम्झौता हुने गरी मिति तय भएको थियो। बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण उक्त सम्झौता रोकिएको थियो। बंगलादेशको सरकार परिवर्तन भएसँगै विद्युत निर्यात सम्झौता के हुने हो भन्ने अन्योल समेत बढेको थियो। तर नयाँ अन्तरिम सरकारले पनि नेपालबाट विद्युत आयात गर्ने कुरामा सकारात्मक भएसँगै सम्झौताको प्रकृया अगाडी बढेको हो।
सम्झौताका लागि बङ्गलादेशबाट आएका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र नेपालका ऊर्जामन्त्री दीपक खड्काबिच बुधबार ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ ।