काठमाडौं। नेपाल र भारतबीच आज पेट्रोलियम पाइप लाइन विस्तार र आधुनिक भण्डारण डिपो निर्माण गर्ने सम्बन्धमा सम्झौता भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र आइओसीका पाइपलाइन निर्देशक सिम्थल कुमारले बिहिबार दिल्लीमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण क्रममा हैसम्झौता भएको थियो।
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने, झापामा १८ हजार ९ सय किलोलिटर क्षमताको ट्यांकी निर्माण गर्ने, सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र चितवनमा ९१ हजार ९ सय किलोलिटर क्षमताको टर्मिनल बनाउने चार वटै पूर्वाधारको काम सम्झौताको ५४ महिना अर्थात् पाँच वर्षमा पूरा हुने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
यी चार पूर्वाधारमध्ये तीनटा पूर्वाधार भारत सरकारले अुनदानमा बनाउने छ। जसको कुल लागत १५ अर्ब ६३ करोड रूपैयाँ अनुमान गरिएको छ।