काठमाडौं। नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्न त्रिपक्षिय सम्झौता भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबिच विद्युत् बिक्री सम्झौता भएको हो।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभपलमेन्ट बोर्ड (बीपीडीबी) तथा भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बिच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता भएको छ। सम्झौतामा तीनै देशका अधिकारीहरूले हस्ताक्षर गरे। नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्दा भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षिय सम्झौता गरिएको हो।
गत जुलाईमा नै त्रिपक्षीय सम्झौता हुने गरी मिति तय भएको थियो। बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण उक्त सम्झौता रोकिएको थियो। बंगलादेशको सरकार परिवर्तन भएसँगै विद्युत निर्यात सम्झौता के हुने हो भन्ने अन्योल समेत बढेको थियो। तर नयाँ अन्तरिम सरकारले पनि नेपालबाट विद्युत आयात गर्ने कुरामा सकारात्मक भएसँगै औपचारिक रुपमा सम्झौता समेत सम्पन्न भएको छ।