काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नवलपरासीमा डुबान र सिँचाइ समस्या समाधान गर्न आग्रह गरेका छन्। सांसद चौधरीले शुक्रबार ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दीपक खड्कासँग भेटेर उक्त माग राखेका हुन्।
उनले पश्चिम नवलपरासीमा वर्षेनी बाढीको समस्या रहेको भन्दै समाधान गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाए।
सांसद चौधरीले गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले तयार गरेका दुई वटा डिपीआर कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए।
उनले सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय र आयोजनाका प्रतिनिधिको बैठक गरी यी आयोजनालाई प्राथमिकताका क्रममा कार्यान्वयन गर्ने विधि र चरण पहिल्याउने, सोही अनुसारको प्राथमिकता र विधि अपनाएर चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने, त्यसका लागि छुट्टै शीर्षक कायम गरी चालु आर्थिक वर्षभित्रै कार्यान्वयन प्रारम्भ गर्ने व्यवस्था गर्ने र यस क्रममा स्थानीय जनता तथा जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने लगायतका काम हुनुपर्ने बताए।