काठमाडौं। मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुली र मकवानपुरको सिमा क्षेत्रमा पर्ने वाग्मती नदीमा निर्माण सुरु गरेको ११ वर्ष वितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन। लामो समय सम्म पुल निर्माण नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।
पुल निर्माण नहुँदा वर्खाको समयमा त समस्या छदैछ, हिउँदको समयमा पनि आवतजावत गर्न समस्या भएको छ। पुल निर्माण समयमै सक्नको लागी आफु निर्माण स्थलमै धर्ना दिने वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन्। केही दिनपछि दुवै जिल्लाका सीडीओ र निर्माण व्यवसायीलाई राखेर धर्ना दिने उनको भनाइ छ।
पुल निर्माण कति दिनभित्र सम्पन्न हुन्छ, त्यो धर्नापछि टुङ्गो लाग्ने उनले जानकारी दिए। ११ वर्ष अगाडी निर्माण सुरु गरिएको भएतापनि सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू समयमा निर्माण सम्पन्न गर्न दबाब दिएपछि मात्र स्वच्छन्द निर्माण सेवाले डेढ वर्षअघिदेखि पुल निर्माणको कामलाई अगाडी बढाएको हो।
आयोजनाको पश्चिमी क्षेत्रका इन्जिनियरका अनुसार २०६८ असार २९ मा २३ करोड ५३ लाख ९ हजार ३ सय ४४ रुपैयाँ लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। पाँचौं पटक आयोजनाको म्याद थप भइसक्दा पनि भौतिक प्रगति ८९ प्रतिशत मात्र छ।