भगीरथ भण्डारी
इलाम। दुई वर्ष अघि नै परीक्षण सम्पन्न भएर पनि निर्माण भएको इलामको शुकिलुम्बा विमानस्थल अझै सञ्चालनमा आएको छैन । पहिले कालोपत्रे नगरी परीक्षण सम्पन्न भएको विमानस्थल कलोपत्रे भइसक्दा पनि सञ्चालन नभएको हो ।

फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पूरा भएपनि उडान भने अन्योल रहेको छ। गत वैशाखमै दोस्रो पटक परीक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिलेसम्म इलाममा जहाज उडान अन्योल रहेको हो।
विमानस्थलको धावनर्माग कालोपत्र निर्माण कार्य सम्पन्न भएसँगै इलामबाट जाहाज उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसि थिए। ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थलको धावनर्माग कालोपत्र निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म उडान परीक्षण नहुँदा इलामबासीमा निरासा छाएको छ। जिल्लाकै गौरवपूर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलमा जाहाज नउड्नुले आयोजना अलपत्र पर्ने होकि भन्ने चिन्ता देखिन थालेको स्थानीय बताउँछन्।
लकडाउनका कारण विमानस्थल निर्माण केही प्रभावित भएपनि अहिले विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाइ पार्कीङ्ग गर्ने स्थान समेत कालोपत्र गर्ने काम सम्पन्न भएको छ। आठ करोड ४० लाखमा निर्माणको ठेक्का पाएको आशिष आशिर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कँक्रिट सहित विमानस्थलको कन्ट्रोल टावर बनाउने जिम्मेवारी पाएको थियो। जसमा सबै काम सकेर जिम्मा लागाएको भएपनि उडानको कुनै तयारी भने देखिँदैन।
सम्झौता अनुसारको काम समयमानै सम्पन्न भए गत वैशाख महिनामै टेष्ट फ्लाइट गर्ने नेपाल नागरिक उड्यान प्राधिकरणको लक्ष रहेको भएपनि अहिलेसम्म उडान हुन सकेको छैन । विमानस्थलमा अहिले सम्म भएको काम वाहेक थप पूर्वाधारका लागि तारबार गर्ने, स्थायी टर्मीनल भवन बनाउने र सुरक्षा गार्डका लागि क्वाटर बनाउने काम क्रमस बनाउँदै लैजाने भनिएको छ। अस्थायी रुपमा भने यी संरचना समेत निर्माण गरिएको छ। उडानका लागि मुख्य काम कालोपत्रेनै रहेको नेपाल नागरिक उड्यान प्राधिकरणका इन्जिनियर विनायक भट्टराई बताउँछन। उनले भने, ‘दिर्घकालिन रुपमा एयरपोर्ट चलाउनका लागि टर्मिनल भवनहरु, कन्ट्रोल टावर, तारवारको काम विभिन्न कामहरु हुन्छन्। त्यसलाई चरणबद्घ बनाउँदै जान्छाँै ।’
विमानस्थलबाट निस्कने भलले त्यस तलका बस्तीमा प्रत्यक्ष असर गरेपछि प्राधिकरणले ड्रेन व्यवस्थापनलाई पनि प्राथमिकता दिएर काम गरेको छ। तर नालि भत्किएर लथालिङ्ग बनेको छ । विमानस्थलबाट माइखोलासम्म नै ढल व्यवस्थापन गर्नका लागि ९ करोडको लागतमा काम भइसकेको छ। विमानस्थल निर्माण सम्पन्न भएपछि इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्कम लगायतका स्थानियलाई समेत सजह हुने छ । सुकिलुम्काको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण थालिएको थियो । २०५८ मानै प्रकृया थालिएको विमानस्थल २०६८ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यस गरे पनि लामो समयसम्म निर्माण शुरु हुन सकेको थिएन।