काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले दिएको समय भित्रपनि डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काटेको छ। प्राधिकरणले महसुस बुझाउन दिएको समय सकिएसँगै बिहीबार रातिदेखि लाइन काट्न सुरु गरेको हो।
पछिल्लोपल्ट असोज २४ गते १५ दिनको म्याद दिएर प्राधिकरणले बक्यौता रहेका ४९ वटा उद्योगको नाम सार्वजनिक गरेको थियो। यसबीचमा ६ वटा मात्र सम्पर्कमा आएर किस्ताबन्दीको सुविधा लिएको प्राधिकरणले जनाएको छ। बाँकी सम्पर्कमा नै नआएका उद्योगको लाइन प्राधिकरणले बिहीबार रातिदेखि काट्न सुरु गरेको हो।
बिहिबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो। तर बैठकमा विद्युत महसुल उठाउने बारे कुनै पनि निर्णय भने भएको थिएन्। बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको हुनाले महसुल बुझाउनुपर्ने पक्षमा छन्।