धनुषा। जटही–ढल्केबर सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। व्यापारिक मार्गको रुपमा रहेको जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको काम अब डेढ किलोमिटर मात्र बाँकी रहेको हो।
बाँकी काम केही महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्रताका साथ भइरहेको बताइएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको हो। डेडिकेडेट ६ लेनमा सडकको निर्माण भइरहेको छ। सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ।
जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ। झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने गरी निर्माण भएको व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ। वि.सं २०७१/७२ मा निर्माण सुरु भएकामा हालसम्म ३८ दशमलव पाँच किलोमिटर सम्पन्न भइसकेको बताइएको छ। चार ठेक्कामा निर्माण भइरहेकामा तीन ठेक्का सम्पन्न भइसकेको छ।
सडक निर्माणमा चार ठेक्कामध्ये दुई ठेक्का आब २०७१/७२ र अर्को दुई ठेक्का आव २०७३/७४ मा सम्झौता भएको थियो। पहिले भएका दुबै ठेक्का सम्पन्न भइसकेको र पछिल्लो पटक भएका दुई ठेक्कामध्ये एउटा सम्पन्न भइसकेको छ भने एउटा सम्पन्न हुने क्रममा छ।