काठमाडौँ। गौरवको आयोजनाका रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको म्याद फेरी दुई वर्ष थपिने भएको छ। निर्माण सुरु गरेको १२ वर्षमा पनि निर्माण नसकिएपछि आयोजनाको म्याद थप्न लागिएको हो।
आयोजनाका अनुसार डेढ वर्ष समय बाँकी भए पनि यो समय अवधीमा काम सम्पन्न नहुने भएको छ। उक्त आयोजनाको अहिलेसम्मको भौतिक प्रगती ६८ दशमलव ५ प्रतिशत मात्र छ। ३२ प्रतिशत निर्माणको काम सुरु नै भएको छैन।
२०६६।२०६७ बाट निर्माण सुरु गरिएको राजमार्गको काम २०७९।८० भित्र सम्पन्न गरिसक्नु पर्ने थियो। तर कोरोनाको महामारीले गर्दा २ वर्ष ढिला भएको आयोजनाको भनाइ छ।
आयोजनाका अनुसार केही पुलको ठेक्का तोडेर नयाँ गरिँदै बनाइदै छ। निकुञ्ज क्षेत्रको सडक निर्माण अझै बाँकी छ। २ सय ५० पुलमध्ये १ सय निर्माण भइसकेका छन् । १४ वटा पुल चालु आर्थिक वर्षमा निर्माण सकिने छ।
सबैतिर गरेर ३ सय किमि सडकको ठेक्का निकाल्न बाँकी रहेको र अन्य सडकको ठेक्का भएको आयोजनाले जनाएको छ। चालु आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन भएको भएपनी चालु आर्थिक वर्षको पाँच महिना बित्दा दुई अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ।
सुरुमा भारत सरकारबाट सञ्चालन भएको आयोजनामा भारतबाटै निर्माण व्यवसायी र कन्सल्टेन्ट आएर काम गरेका थिए। तर भारतीय निर्माण व्यवसायी काम अलपत्र पारेर हिँडेपछि ढाँचा परिवर्तन गरिएको थियो । उक्त राजमार्ग तराईका २० वटा जिल्ला भएर जान्छ। आयोजनाका अनुसार यो राजमार्गबाट ८० लाख जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।