काठमाडौं। निर्माण कार्यको सिजन शुरु भएसँगै निर्माण सामाग्रीको मूल्य घटेको छ। सरकारले विकास खर्च गर्न नसक्दा र तरलता अभावका कारण निर्माण सामाग्रीको मूल्य घटेको हो।
निर्माण कार्यहरु शुरु हुने समयमा नै निर्माण सामाग्रीहरुको माग ५० प्रतिशतले घटेको छ। निर्माण सामाग्रीको माग घटेसँगै मूल्य पनि घट्दै जान थालेको छ। विशेष गरेर सिमेन्ट र डन्डीको मूल्यमा गिरावट आएको छ।
अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँ र डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँले घटेको उद्योगीहरुको भनाइ। माग घट्न थालेदेखि सिमेन्टको मूल्य ५ देखि ७ प्रतिशतसम्म घटिसकेको सिमेन्ट उत्पादक संघले जनाएको छ।
हाल ओपिसी सिमेन्टको मूल्य करिब ६ सय ७५ रुपैयाँ र पिपिसी सिमेन्टको मूल्य करिब ५ सय ७५ रुपैयाँ छ। यसअघि ओपिसी सिमेन्टको मूल्य ७ सय २७ र पिपिसीको ६ सय २५ रुपैयाँ सम्म थियो।
त्यसैगरी डन्डीको मूल्य हाल प्रतिकिलो १०० देखि १०५ सम्म रहेको छ। यसअघि डन्डीको मूल्य १०५ देखि ११० प्रतिकिलोसम्म थियो।