काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले भारतसँग पञ्चेश्वर, अरुणलगायतका आयोजना चाँडै अघि बढाउने विषयमा छलफल भएको बताए। भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार नेपाल फर्किएका मन्त्री खड्काले भारतसँग पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन्।
मन्त्री खड्काले नेपालमा काम गर्ने वातावरण भए भारतका बहुराष्ट्रिय कम्पनीहरू नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक रहेको समेत बताए। उनले नेपालको सौर्य ऊर्जाको विकासमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्।
मन्त्री खड्काले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरूसँग छलफल गरेको समेत जानकारी दिएका छन्।