दाङ। निर्माण कार्यमा गुणस्तरहिन सामाग्रीको प्रयोग भएकै कारण आजभोलि धेरै ठाउँमा सडक तथा भवन निर्माण कार्य पूरा नहुँदै भत्किन थालेको देखिन्छ। निर्माण गर्दा गुणस्तरिय सामाग्रीको प्रयोग नगर्नु, निर्माण व्यवसायीले लापरबाही गर्नु र अनुगमनकारीले पनि अनदेखा गर्नु गुणस्तरिय काम नहुनुको मुख्य कारण हो भन्दा फरक नपर्ला।
यसकै एउटा उदाहरण हो, दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक। यो सडक निर्माण पूरा भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ।
सडकखण्डका विभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन्। भर्खर बनेको सडक कुनै पनि तरिकाले हेर्दा पनि नयाँ जस्तो देखिन्दैन। जताजतै खाल्डाखुल्डी र धुलाले सडक वर्षौँ अघि बनेको र मर्मत नभएको जस्तो देखिन्छ।
डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता भएको थियो। निर्माण कार्य ०७५ साल असोज ३० गते सम्पन्न भएको थियो। तर निर्माण सम्पन्न भएको ३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड हस्तान्तरण हुन सकेको छैन।
खल्डाखुल्डी परेको सडक मर्मत गर्न भन्दै निर्माण कम्पनीलाई सडक विभागले पटक–पटक पत्राचार गर्दै आएको छ। तर निर्माण कम्पनीले अटेर गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।