काठमाडौं। रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन गर्न अबको एक हप्ता लाग्ने भएको छ। रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको १११ मेगावाटको आयोजनाको परीक्षण उत्पादन सुरु गर्न अबको एक हप्ता लाग्ने भएको हो।
अहिले आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षण भइरहेको छ। निर्माण पूरा भएर पनि आयोजनाले इलेक्ट्रो मेकानिकल उपकरण परीक्षणका लागि विद्युत् नपाउँदा परीक्षण समेत रोकिएको थियो। अबको ३, ४ दिनभित्र आयोजनाका उपकरणको नोलोड चार्ज शुरु हुने र विद्युत्को परीक्षण उत्पादनका लागि भने अझै कम्तिमा एक साता लाग्ने देखिएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार आयोजना सञ्चालनमा ढिलाइ हुँदा पहिला परीक्षण गरिएका उपकरण पनि अहिले दोहोऱ्याएर परीक्षण गर्नुपर्ने भएको छ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाको अन्तिम संशोधित लागत १८ अर्ब ४७ करोड रहेको छ।