काठमाडौं। नवलपरासी बर्दाघाट सुस्ता पुर्व अन्तर्गतको पोखरा त्रिवेणी मार्ग स्तरोन्नति हुने भएको छ। पोखरा त्रिवेणी मार्ग अन्तर्गतको डेडगाउँ–रिप्तिगाउँ–बोधिखोला–वीरशुरा–देउराली–झलबास सडक खण्डको स्तरोन्नती हुने भएको हो।
सो सडक खण्ड स्तरोन्नतीको लागि चालु आर्थिक वर्षमा करिब ५२ करोड बजेट बिनियोजन भएको छ। सोही बिनियोजित बजेट अनुरुप सडक स्तरोन्नतीको कार्यलाई अघि बढाइएको हो। प्रादेशिक सरकारको माताहतमा रहेको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत सो सडक स्तरोन्नती हुने जनाइएको छ।
सो क्षेत्रको सडक अव्यवस्थित भएको कारण सडक दुर्घटना हुने साथै वर्षातमा हिलो र हिउँदमा धुलोको कारण स्थानीय र सवारी चालकहरुले सास्ती झेल्दै आएका छन्। कतै सडकमा खाल्डो छ भने कतै साँघुरो सडक भएकाले यात्रा गर्नै सकस भएका हुनाले सो सडक स्तरोन्नतीको आयोजनालाई अघि बढाइएको हो।
सो सडक स्तरोन्नतीको लागि पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान समेत गरिसकेको छ। ठेक्का छनोट प्रक्रिया पुरा भएपछि छिट्टै सो सडक निर्माणको कार्यलाई अघि बढाउने मन्त्रालयको योजना रहेको छ।