काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन पेट्रोलियम भण्डारण गृहको निरीक्षण गरेका छन्। मन्त्री भण्डारीले बुधबार मन्त्रालयको टोलीसँग भैरहवामा निर्माणाधीन नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गरेका हुन्।
मन्त्री भण्डारीले निरीक्षणपछि निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्। उनले आयल निगमको निर्माणका विषयमा आफू काठमाडौँ पुग्नेबित्तिकै यसबारेमा छलफल अगाडि बढाउने बताए।
निगमले खरिद गरेको १३ दशमलव ५ बिघा जग्गामा करिब तीन अर्बको लागतमा नयाँ भण्डारण गृह निर्माण गर्न लागेको निगमले जनाएको छ।
रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले पनि नयाँ भण्डारण गृहको आवश्यकता परेको निगमको भनाइ छ।