काठमाडौं। शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ। निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य बढाएको हो।
निगमले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य भने बढाएको छैन।
मूल्य बढेपछि सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। त्यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।
काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ।