सिन्धुली। स्थानीयले विरोध गरेपछि मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको धुराबजार–खट्टार खण्डको निर्माण रोकिएको छ। सहरी सडकको मापदण्डमा निर्माण हुनु पर्ने माग गर्दै स्थानीयले बुधबारदेखि सडक निर्माण कार्य रोकेका हुन्।
विगत ५ वर्षदेखि रोकिएको धुराबजार–खट्टार ६ किलोमिटर सडक तीन साता अघि मात्र निर्माण शुरु गरिएको थियो। हाललाई ११ मिटर कायम गरी निर्माण शुरु गरिएको सडकको दायाँबायाँ १५–१५ मिटर हुनुपर्ने स्थानीयको माग छ।
‘मदन भण्डारी राजमार्गको मापदण्ड २०७२’ चैत्र २९ गते प्रकाशित राजपत्रअनुसार सडकको दायाँबायाँ १५–१५ मिटर हुनुपर्नेमा बिनासूचना ११ मिटर मात्र लिएर काम शुरु भएको भन्दै स्थानीयले आन्दोलन शुरु गरेका हुन्।
सहरी सडकको मापदण्ड घोषणा नै नगरी काम शुरु गर्दा घर तथा जग्गाधनीहरु विस्थापित हुने भएकाले निकासका लागि सडक निर्माण रोकिएको आन्दोलनरत एक स्थानीयले बताए।
राजमार्गको धुराबजार पुछारदेखि धुराफाँट, मिलनचोक, लव्दाह, शिवालय, साङबाले हुँदै खट्टारसम्मको ६ किलोमिटरलाई सहरी सडकको मापदण्डमा लैजान वा राजमार्गकै मापदण्ड कायम गरी घर तथा जग्गाको उचित मुआब्जा दिनुपर्ने स्थानीयको मुख्य माग छ। आन्दोलनरत स्थानीयले आफ्नो मागसहितको ज्ञापनपत्र स्थानीय प्रशासनलाई समेत बुझाएका छन्।