काठमाडौं। विद्युत् विकास विभागले १४ वटा आयोजनाको अनुमतिपत्र जारी गरेको छ। विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको जानकारी दिएको हो।
विभागले जलविद्युततर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ। सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ। वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ। यसरी कुल १० वटा आयोजनाको एक सय १९ दशमलव दुई मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको छ।
जलविद्युत्तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ। सो आयोजनाको कुल क्षमता दुई सय १० रहेको छ। यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ। ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ।
सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ। यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।