काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै आएको सिनामङ्गलस्थित असुरक्षित डिपो सारिने भएको छ। डिपो सार्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया सुरु भएको हो।
डिपिआर तयार पार्न बुधबार नेपाल आयल निगम हवाई इन्धन डिपो कार्यालय सिनामङ्गल र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी) पुल्चोकबिच सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक नारायण गौतम र हवाई इन्धन डिपो कार्यालयका प्रमुख प्रदीपकुमार यादवले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार डिपिआर तयार गर्न ६ महिना समय लाग्ने छ भने एक करोड ९८ लाख ८४ हजार लागत लाग्ने छ।