काठमाडौं। नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न दक्षिण कोरियाली लगानीकर्तालाई आग्रह गरिएको छ। दक्षिण कोरियामा आयोजित नेपाल इन्भेष्टर सेमिनारलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्।
अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री रेटिङसमेत दक्षिण एसियामा भारत बाहेक सबैभन्दा राम्रो रहेकोले ढुक्कसँग लगानी गर्न भनेका छन्।
उनले नेपालको जलविद्युत क्षेत्रमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको निर्माण अघि बढाएकोमा कोरियालाई धन्यवाद समेत दिए। कोरियामा बसेका नेपालीहरूले समेत नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक तथा साधारण शेयर होल्डर भएर लगानी गरेको स्मरण गर्दै कार्कीले राष्ट्र र व्यक्तिगत फाइदाका लागि समेत कोरियामा बस्ने नेपालीबाट थप लगानीका लागि आग्रह गरेका छन् ।