काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताए। नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै घिसिङले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फैलाइएको बताएका हुन्।
उनले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको बताएका छन्। अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २र३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताए । तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको बताए ।
उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६र१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २र३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको बताए। उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र कालीगण्डकी पनिछिटै सञ्चालनमा आउने भएकोले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए ।