काठमाडौं। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा निर्माणाधीन ‘लोकतान्त्रिक सिँचाइ कुलो योजना’ को काम स्थानीयले रोकेका छन्। कार्ययोजनाअनुसार काम नभएको भन्दै स्थानीयले कुलो निर्माणको काम रोकेका हुन्।
स्टिमेट विपरीत भएकाले स्थानीयले काम रोकेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए। स्थानीयले कुलोमा राखिएका सबै पाइप पुर्नुपर्ने बताएका छन् भने निर्माण कम्पनीले त्यस्तो गर्न सम्भव नरहेको बताउँदै आएको उनले जानकारी दिए ।
दस करोडभन्दा धेरै लागतमा बन्न लागेको उक्त आयोजना निर्माणका लागि २०७६ असार २३ मा स्काइ–विवश–रामसागर जेभीले २०७८ पुस २३ गतेसम्म सक्ने गरी कोसी प्रदेश सरकारको खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग सम्झौता भएको थियो। काम सुरु भएदेखि नै उक्त आयोजना बारम्बार विवादमा पर्दै आएको छ।
गत मंसिर ७ मा पनि कुलो निर्माणमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको थियो । त्यतिबेला स्थानीय, जनप्रतिनिधि र निर्माण कम्पनीको छलफलपछि यसको काम पुस ७ गतेबाट सुरु गरिएको थियो ।