काठमाडौं। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरेको छ। आयोजनाले प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरेको हो।
मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिसकेको आयोजनाले जनाएको छ।
अहिले आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५.८ प्रतिशत भएको आयोजनाले जनाएको छ।