काठमाडौं। मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण कार्य सुरु भएको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएसँगै परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको हो।
पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याइएको छ। अहिले पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ।
जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिएको थियो तर तयारी पूरा नभएका कारण केही दिन ढिलो हुने कार्यालयले जनाएको छ।