काठमाडौं। काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा नेपाल विद्युत प्राधिकरणले विद्युत उपलब्ध गराउने भएको छ। प्राधिकरणले द्रुतमार्ग अन्तर्गतको मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति गर्ने भएको हो।
विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ ।
फास्ट ट्र्याकको माण्डु माल्टाबेंसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङलगायतका संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको छ । फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्नेछ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।