काठमाडौं। पेट्रोल र डिजेलको मूल्य बढेको छ भने हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको र हवाई इन्धनको मूल्य घटाएको हो।
निगमले पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल एक र डिजेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले बढाएको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।
मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ । डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।