काठमाडौं। तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा २२०/१३२ केभी मार्कीचोक सबस्टेसन सञ्चालनमा आएको छ। मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो।
ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित उक्त सबस्टेसन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यका ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन पनि मंगलबार नै २२० केभीमा चार्ज गरी सञ्चालनमा आएको छ ।
८२ किलोमिटर लामो उक्त प्रसारण लाइन ७ असार २०७९ बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा आएको हो ।