काठमाडौं। दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ को काम सम्पन्न भएको छ। चार हजार दुई मिटर गहिराइसम्म ड्रिलिङ भएसँगै बुधबार ड्रिलिङको काम सकिएको हो।
ड्रिलिङको काम गत वैशाख २८ गतेबाट सुरु गरिएको थियो। दुई हजार सात सय मिटर ड्रिलिङ भएपछि विज्ञले प्रत्येक दुईरदुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेका थिए। त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ। पेट्रोलियम पदार्थ (प्राकृतिक ग्यास) हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेका छन् ।
चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमुनाको विशिष्ट अध्ययन चीनमै हुनुपर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ ।