काठमाडौं। कर्णाली प्रदेश सरकारले डोल्पा रहेको १२० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको शेयर किन्ने भएको छ।
कर्णाली सरकारका शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको निर्माण कम्पनीले आह्वान गरेको शेयरमध्ये ४१ करोड ४९ लाख ३० हजार ३६० रुपैयाँ बराबरको शेयर लगानी गर्ने निर्णय गरेको हो।
आयोजनाको संस्थापक सेयर धनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ। यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको शेयर स्वामित्व छ ।
शेयर धनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।