काठमाडौं। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा आइतबारदेखि अनिश्चितकालका लागि हेलिकोप्टर उडान बन्द गरिएको छ। स्थानीयको धम्की एवं अवरोधलगायत कारण देखाउँदै आन्तरिक उडानमा रहेका वायुसेवा तथा हेलिकोप्टरहरूको छातासंगठन वायुसेवा सञ्चालक संघले यस क्षेत्रमा उडान स्थगन गरेको हो।
संघले विज्ञप्ति जारी गर्दै स्थानीय युवा समूह, क्लबलगायत सरोकारवालाले ‘निकुञ्ज क्षेत्रमा हेलिकोप्टर अवतरण भए चालकलाई समातेर कारबाही गर्ने’ लगायत अभिव्यक्ति सञ्चारमाध्यममार्फत व्यक्त गरेका कारण हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगन गरेको जानकारी दिएको छ।
खराब मौसमका कारण खुम्बु क्षेत्रमा पर्ने लुक्लामा केही दिनयता उडान नियमित हुन सकेको छैन । हेलिकोप्टर उडान रोक्ने निर्णयलगत्तै लुक्लामा जहाजबाट हुने व्यावसायिक उडान पनि स्थगन गर्ने निर्णय गरिएको छ।