काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनावश्यक स्थानमा विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्सानीमा लैजाने काम भएको बताए। बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खान खोजेको बताएका हुन्।
उनले भने, ‘ ‘‘उदयपुर र डडेलधुरामा विमानस्थल चल्छ ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्सानी भइरहेको छ ।’’
अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठुला बिल्डिङहरु किन बनाएको भन्दै प्रश्न समेत गरेका छन्।