काठमाडौं। वायुसेवा संचालक संघले सोलुखुम्बु क्षेत्रमा हुँदै आएका नियमित फिस्ड विङ्ग उडान रोक्ने चेतावनी दिएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यावसायिक हेलिकोप्टर उडानलाई रोक लगाउने निर्णय भएपछि संघले त्यस क्षेत्रका सबै उडान रोक्ने चेतावनी दिएको हो।
संघले बुधबार विज्ञप्ति जारी गर्दै यदि त्यस क्षेत्रमा निजी उडानलाई लगाइएको प्रतिबन्ध खुला नगरे यही माघ १० गतेदेखि त्यस क्षेत्रका नियमित फिस्ड विङ्ग उडान रोक्ने चेतावनी दिएको छ।
पासाङ ल्हामु गाउँपालिकाले पुस १७ गतेदेखि खुम्बु क्षेत्रमा पर्यटकका लागि हुने व्यावसायिक हेलिकोप्टर चार्टर उडानलाई रोकेको थियो ।
गाउँपालिकाको उक्त निर्णयपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले पनि नेपालमा रहेका ११ वटा हेलिकोप्टर कम्पनीलाई पुस १७ देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडान नगर्न निर्देशन दिएको थियो । तर निकुञ्ज कार्यालयले भने आफ्नो निर्णय फिर्ता लिइसकेको छ ।