रौतहट। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुलको ठेकेदारसँगको ठेक्का तोडिएको छ। हुलाकी राजमार्गअन्तर्गतको बागमती नदीको पुल ११ वर्षदेखि निर्माण शुरु गरेर अलपत्र पार्ने कम्पनीसँगको ठेक्क तोडिएको हो।
हुलाकी सडक आयोजनाले पुल निर्माण पूरा गर्न पुरानो ठेक्का रद्द गरी ८० करोड रुपैयाँको लागत अनुमानसहित नयाँ ठेक्का आह्वान गरेको छ ।
यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालिले पुलको पिलर मात्र बनाएर छाडेको थियो । ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको लुम्बिनीले २०७० जेठ ३० मा निर्माण सक्ने गरी २०६७ जेठ ३१ मा सम्झौता गरेको थियो ।
ठेक्का लुम्बिनीले लिए पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि पप्पुले २०७० मै काम बन्द गरेको थियो । पुल बन्न लागेको भन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि हुलाकी सडक आयोजनाले पनि निर्माणको काम रोकेको थियो ।
अहिले पुलको प्राविधिक डिजाइन परिवर्तन गरेर स्पान थप्ने, नदी नियन्त्रणको काम, पुलको अप्रोच सडक बनाउने, बिम ढलान गर्नेलगायतको काम नयाँ ठेक्कामार्फत हुने बताइएको छ ।
निरन्तर काम गर्यो भने आगामी २ वर्षमा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको बताइएको छ।