काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १५ सय युनिट पुर्याउने लक्ष्य रहेको बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रूपान्तरण सम्मेलन २०२५’ मा मन्त्री खड्काले बलियो सरकार भएका बेला बलिया र राम्रा काम गर्नुपर्ने बेला रहेको भन्दै उक्त लक्ष्यबारे जानकारी दिएका हुन्।
उनले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता स्मरण गर्दै यो लक्ष्य प्राप्तिका लागि सरकारसँग बलियो योजना रहेको र आवश्यक कानुन परिमार्जन तथा संरचना निर्माण गरिसकिएको जानकारी दिए ।
ऊर्जा क्षेत्र थप सबल बनाउन सरकारले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण र सञ्चालनमा सहभागी गराएको उनको भनाइ छ । ऊर्जा परियोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई आर्थिक रूपमा सशक्त बनाउन सेयर वितरण नीति लागु गरिएको मन्त्री खड्काले जानकारी दिए।